काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक क्षेत्रमा भारत र चीनले सञ्चालनमा ल्याएको व्यापारिक मार्गबारे नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट (डिप्लोमेटिक नोट) पठाएको जानकारी दिएका छन्।
प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले उक्त विषयमा नेपालले औपचारिक रूपमा आफ्नो धारणा भारत र चीनसमक्ष राखिसकेको बताए।
प्रधानमन्त्री शाहका अनुसार नेपालले पठाएको कूटनीतिक नोटको जवाफ दुवै देशबाट प्राप्त भइसकेको छ। उनले सीमा तथा भू–राजनीतिक संवेदनशीलतासँग जोडिएको यस विषयलाई संवाद र कूटनीतिक पहलमार्फत समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए।
‘लिपुलेक र लिम्पियाधुरासँग सम्बन्धित विषयमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ। त्यसको प्रतिक्रिया पनि प्राप्त भइसकेको छ,’ प्रधानमन्त्री शाहले भने।
उनले विवादित विषयको दीर्घकालीन समाधानका लागि सम्बन्धित पक्षका इतिहासविद्, कूटनीतिज्ञ तथा विज्ञहरूलाई सहभागी गराएर तथ्यमा आधारित संवाद अघि बढाउने समझदारी भएको समेत बताए।
प्रधानमन्त्री शाहले यस विषयसँग ऐतिहासिक सन्धि तथा दस्तावेजहरू जोडिएकाले बेलायत सरकारसँग पनि आवश्यक चासो र संवाद कायम गरिएको जानकारी दिए।
नेपालले आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखेर कूटनीतिक माध्यमबाट विषयको समाधान खोजिरहेको प्रधानमन्त्री शाहको भनाइ थियो।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार











प्रतिक्रिया