एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा सत्तारूढ अल इन्डिया तृणमूल कांग्रेस (टीएमसी) का सांसद कल्याण बनर्जीमाथि प्रदर्शनका क्रममा आक्रमण भएको छ ।

आइतबार हुगली जिल्लाको चन्दितला प्रहरी चौकी अगाडि ज्ञापनपत्र बुझाउन पुगेका सांसद बनर्जीमाथि विरोध प्रदर्शन चर्किँदै जाँदा भीडले आक्रमण गरेको बताइएको छ ।

advertisement

उनी विधानसभा निर्वाचनपछि टीएमसी कार्यकर्ताहरूको गिरफ्तारीको विरोधमा प्रहरीलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए । सोही क्रममा केही व्यक्तिहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए भने स्थिति तनावपूर्ण बन्दै गएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरूले “चोर” भन्दै नारा लगाउँदै विरोध जनाएपछि स्थिति झनै बिग्रिएको थियो ।

घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बनर्जीले प्रहरीकै अगाडि आफूलाई कुटपिट गरिएको दाबी गरेका छन् । उनले टाउकोमा चोट लागेको र रगत बगेको बताएका छन् ।

उनले यस घटनामा भारतीय जनता पार्टी (भाजपा) समर्थकहरूको संलग्नता रहेको आरोपसमेत लगाएका छन् ।

घटनापछि घाइते अवस्थामा देखिएका बनर्जीले प्रहरी प्रशासन निष्क्रिय रहेको आरोप लगाउँदै प्रहरी चौकी अगाडि धर्ना दिएका थिए ।

यसैबीच, उनले टीएमसीमाथि भइरहेको ‘भाजपा–प्रायोजित आक्रमण’ विरुद्ध आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

यसअघि एक दिन अघि मात्रै टीएमसीका वरिष्ठ नेता अभिषेक बनर्जीमाथि पनि दक्षिण २४ परगना जिल्लाको सोनारपुर क्षेत्रमा विरोध प्रदर्शन भएको थियो । निर्वाचनपछिको हिंसामा प्रभावित परिवारसँग भेट्न पुगेका बेला उनीमाथि अण्डा र ढुङ्गा प्रहार भएको तथा थप्पड र मुक्का हानिएको आरोप लागेको थियो ।

घटनापछि उनलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।

सांसद कल्याण बनर्जीमाथिको आक्रमणपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी र केन्द्रीय सुरक्षा बल परिचालन गरिएको छ । थप तनाव फैलिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूले जनाएका छन् ।

यता भारतीय जनता पार्टी (भाजपा) ले भने टीएमसीका आरोप अस्वीकार गर्दै स्थानीय बासिन्दाहरू सरकारप्रति असन्तुष्ट भएकाले स्वतःस्फूर्त रूपमा विरोध भइरहेको दाबी गरेको छ ।

पश्चिम बंगालमा निर्वाचनपछिको राजनीतिक तनाव कायमै रहेका बेला लगातार दुई दिन टीएमसी नेतामाथि भएका घटनाले राज्यको अवस्था थप तनावपूर्ण बनेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com