काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाएकी छन् ।
बमले आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीको भनाइप्रति व्यंग्यात्मक टिप्पणी गरेकी हुन् । उनले लेखेकी छन्, ‘ठिकै छ, सीमा सम्बन्धी कुरा त बुझियो। तर सभापति र प्रधानमन्त्रीबीच दिल्लीको प्यारो को हुने भन्ने प्रतिस्पर्धा त चलेको होइन नि ? कि के हो ?’
यसअघि आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिपछि संसद्भित्र र बाहिर राजनीतिक बहस चर्किएको छ । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइलाई असंवेदनशील र पदीय मर्यादाविपरीत भन्दै आलोचना गरेका छन् ।
प्रधानमन्त्री शाहले आकस्मिक रूपमा संसद्मा उपस्थित भएर प्रश्नोत्तरमा भाग लिएपछि सो विषयले थप चर्चा पाएको हो । हाल उनको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया