काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उनलाई पदमा बसिरहने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै रावलले प्रधानमन्त्री शाहले संसद्मा दिएको सीमा सम्बन्धी भनाइलाई आपत्तिजनक र तथ्यहीन भएको आरोप लगाए ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई उल्लेख गर्दै रावलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको जिम्मेवारी बोकेको व्यक्तिबाट आएको भनाइ गम्भीर गल्ती भएको दाबी गरे ।
उनले लेखेका छन्, ‘नेपालले भारतको भूभाग मिचेको छ भन्ने जस्तो गलत कुरा संसद्मा राख्नु अत्यन्त आपत्तिजनक हो। यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्री पदमा बसिरहने नैतिक अधिकार हुँदैन।’
रावलले प्रधानमन्त्रीको भनाइले नेपालको भौगोलिक अखण्डतामाथि प्रश्न उठाउने र देशको अडान कमजोर पार्ने जोखिम रहेको आरोप पनि लगाए ।
उनका अनुसार, प्रधानमन्त्रीले नेपालको सीमा कहाँ, कति र कहिलेदेखि मिचिएको हो भन्ने विषयमा स्पष्ट तथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता छ ।
रावलले स्वाधीन र अखण्ड नेपालको पक्षमा उभिनुपर्ने भन्दै देशभक्त नागरिकहरूले तत्काल जवाफ माग्नुपर्ने बताए ।
उनले संसद्मा प्रतिनिधित्व गर्ने दल र सांसदहरूले पनि यस विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया