काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारसमक्ष राय–सुझावसहितको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ।

समितिले गुरुङसँग बयान लिने, उनको सम्पत्ति विवरण अध्ययन गर्ने तथा कार्यादेशभित्रका अन्य विषयमा अनुसन्धान सम्पन्न गरेपछि प्रतिवेदन अन्तिम रूप दिइएको समितिका सदस्य अच्युतमणि नेउपानेले जानकारी दिए।

advertisement

‘पूर्वगृहमन्त्री गुरुङसँग आवश्यक बयान लिने, सम्पत्ति विवरण परीक्षण गर्ने लगायतका सबै प्रक्रिया पूरा भइसकेका छन्,’ नेउपानेले भने, ‘समितिलाई तोकिएको कार्यादेशअनुसारको काम सम्पन्न भएकाले आजै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेका छौँ।’

उनका अनुसार प्रतिवेदनमा उपलब्ध प्रमाण, तथ्य र अध्ययनका आधारमा स्पष्ट निष्कर्षसहित सुझाव प्रस्तुत गरिएको छ। कसैलाई दोषी वा निर्दोष ठहर गर्ने विषय पनि प्रमाणकै आधारमा विश्लेषण गरिएको समितिको भनाइ छ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्।

समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा परेका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी करिब २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि राजनीतिक र सार्वजनिक दबाब बढेको थियो।

सेयर खरिदका लागि प्रयोग गरिएको रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले विभिन्न व्यक्तिबाट सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com