क्वालालम्पुर। मलेसिया सरकारले बालबालिकाको सुरक्षा लाई ध्यानमा राख्दै १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने गरी नयाँ कानुनी व्यवस्था लागू गरेको छ ।
सोमबारदेखि कार्यान्वयनमा आएको यस कडा नियमअनुसार अब १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् ।
नयाँ कानुनी व्यवस्थाअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लाखौँ प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ ।
१६ वर्षभन्दा कम उमेरका बालबालिकालाई नयाँ खाता दर्ता गर्न नदिने र पहिले नै सञ्चालनमा रहेका त्यस्ता खाताहरू पहिचान गरी बन्द गराउने पूर्ण जिम्मेवारी सम्बन्धित प्रविधि कम्पनीहरूलाई नै दिइएको छ ।
सरकारले तोकेको यो नियम पालना नगर्ने वा अटेर गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म भारी जरिवाना गर्न सकिने कानुनी व्यवस्था गरिएको छ ।
मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक तनाव तथा सामाजिक सञ्जालको अत्यधिक लतबाट जोगाउने उद्देश्यले यो कडा कदम चालिएको स्पष्ट पारेको छ ।
पछिल्ला वर्षहरूमा बालबालिकाहरू डिजिटल माध्यमबाट हुने विभिन्न खालका गम्भीर जोखिमको सिकार भइरहेकाले यसको कडा नियमन आवश्यक भएको सरकारको ठहर छ ।
यद्यपि, बालबालिकाले विभिन्न उपाय वा प्रविधि अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा उनीहरूका अभिभावकलाई भने कुनै पनि कानुनी कारबाही गरिने छैन ।
सरकारले मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई नै यस विषयमा बढी जिम्मेवार र उत्तरदायी बनाउन खोजेको छ ।
मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेट प्रविधिबाट टाढा राख्नका लागि नभई उनीहरूका लागि सुरक्षित, स्वस्थ र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको प्रष्ट पारेको छ ।
बालबालिकाको सुरक्षाका लागि यस्तो कडा नीति अख्तियार गर्ने मलेसिया विश्वका सीमित देशहरूको सूचीमा उभिएको छ ।
यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायतका देशहरू पनि यस्तै कानुनी व्यवस्था निर्माणको अन्तिम प्रक्रियामा रहेका छन् ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया