काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमण का लागि आज भारत प्रस्थान गरेका छन् ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणमा सभापति लामिछाने केहीबेर अघि भारततर्फ लागेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले उनको प्रतिक्रिया लिन खोजे पनि लामिछानेले भारतबाट फर्किएपछि मात्र कुरा गर्ने भन्दै थप विवरण दिन मानेनन् ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेको भारत भ्रमण जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म हुनेछ ।
त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् ।
यसका साथै उनले अयोध्याको भ्रमण गर्ने कार्यक्रम समेत रहेको प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो पाँचदिने भ्रमण भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया