काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई गलत, त्रुटिपूर्ण तथा राष्ट्रिय हितअनुकूल नरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै उपेन्द्र यादवले नेपालले भारतको भूमि अतिक्रमण नगरेको र भारतले पनि त्यस्तो दाबी कहिल्यै नगरेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आधिकारिक अडान र राष्ट्रिय हितलाई प्रतिनिधित्व नगर्ने बताएका हुन्।
‘नेपालले भारतको सीमा मिचेको छैन। भारतले पनि यस विषयमा कहिल्यै प्रश्न उठाएको वा दाबी गरेको छैन,’ यादवले लेखेका छन्, ‘त्यसैले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको यस्तो अभिव्यक्ति गलत, त्रुटिपूर्ण र अपरिपक्व छ।’
उनले सीमा जस्तो संवेदनशील विषयमा सरकार प्रमुखबाट आउने अभिव्यक्ति तथ्यमा आधारित, जिम्मेवार र राष्ट्रिय हितको संरक्षण गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहको उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। सीमा सम्बन्धी विषयमा सरकारको धारणा र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष तथा प्रतिपक्षका नेताहरूबीच समेत बहस सुरु भएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया