काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त भनाइलाई निन्दनीय, आपत्तिजनक तथा राष्ट्रिय हितविपरीत रहेको टिप्पणी गरेका हुन्।

सोमबार नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति स्वीकार्य हुन नसक्ने बताए।

advertisement

‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको धारणा निन्दनीय र घोर आपत्तिजनक छ,’ थापाले भने, ‘नेपाली कांग्रेस यस अभिव्यक्तिको स्पष्ट र दृढ रूपमा विरोध गर्दछ।’

उनले सीमा विवादजस्ता संवेदनशील विषयमा प्रत्येक राष्ट्रको स्पष्ट र स्थापित अडान हुने उल्लेख गर्दै त्यस्ता अडान इतिहास, प्रमाण र कूटनीतिक आधारमा निर्मित हुने बताए। प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको दीर्घकालीन राष्ट्रिय अडानलाई कमजोर बनाउने खतरा उत्पन्न गरेको उनको भनाइ थियो।

सभापति गगन थापाले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी विषयहरू संवाद, प्रमाण र कूटनीतिक प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिए। तर प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले त्यस्ता विषयमा भविष्यमा हुने कूटनीतिक पहल र समाधानका सम्भावनालाई समेत प्रभावित पार्न सक्ने उनले बताए।

‘यस्ता विषयमा जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति आवश्यक हुन्छ। प्रधानमन्त्रीको भनाइले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्दै आएको दाबी र अडानलाई कमजोर बनाउने जोखिम बढाएको छ,’ थापाले भने।

 

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com