काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय सङ्गठन समन्वय मोर्चाले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार बसेको मोर्चाको बैठकले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विभिन्न चरणका विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलनका कार्यक्रम २१ गतेसम्म सञ्चालन गरिनेछन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति असहमति जनाउँदै मोर्चाले त्यसलाई राष्ट्रिय हितविपरीत भएको दाबी गरेको छ।
मोर्चाले प्रधानमन्त्रीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दै त्यसबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन तथा जनतासँग माफी माग्न आग्रह गरेको छ।
‘आत्मसमर्पणवादको विरोध गरौँ, राष्ट्रिय अखण्डताको रक्षा गरौँ’ भन्ने नारासहित आन्दोलनका कार्यक्रम अघि बढाइने मोर्चाले जनाएको छ। आन्दोलनमा मोर्चासँग आबद्ध विभिन्न जनवर्गीय सङ्गठनहरू सहभागी हुनेछन्।
घोषित कार्यक्रमअन्तर्गत सम्बन्धित सङ्गठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने, सरोकारवाला निकायमा विरोधपत्र बुझाउने, विद्यार्थी सङ्गठनहरूको संयुक्त पहलमा विरोध प्रदर्शन आयोजना गर्ने तथा विभिन्न स्थानमा मसाल जुलुस निकाल्ने लगायतका गतिविधि सञ्चालन गरिने बताइएको छ।
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर पछिल्ला दिनहरूमा राजनीतिक दल, नेताहरू तथा विभिन्न सङ्गठनहरूबाट लगातार प्रतिक्रिया आइरहेका छन्। यस विषयले राष्ट्रिय राजनीति र सीमा सम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया