काठमाडौं। प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।

बैठकको कार्यसूचीमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी छलफलसँगै विधेयक प्रमाणीकरणसम्बन्धी प्रक्रिया अघि बढाउने विषयहरू समावेश गरिएको छ।

advertisement

बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

त्यसैअनुसार आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने बताइएको छ। सरकार पक्षले बजेट कार्यान्वयन र आर्थिक नीति सम्बन्धी छलफललाई अगाडि बढाउने तयारी गरेको छ।

तर, संसद्मा देखिएको राजनीतिक विवादका कारण बैठक सहज रूपमा सञ्चालन हुनेमा अनिश्चितता देखिएको छ।

नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको भनाइलाई लिएर विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्दै आएका छन्।

माग पूरा नभएसम्म संसद्को कामकारबाही अगाडि बढ्न नदिने उनीहरूको अडान कायमै रहेको छ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले विपक्षी दलहरूको मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

उनका अनुसार प्रधानमन्त्रीको विवादित भनिएको अभिव्यक्ति रेकर्डबाट हटाउने विषयमा स्पष्ट निर्णय नआएसम्म संसद् अवरोध जारी रहनेछ।

उनले संसद् जनताको सर्वोच्च प्रतिनिधि संस्था भएकाले यहाँ राखिने अभिव्यक्ति तथ्य र जिम्मेवार हुनुपर्ने बताए। साथै, उठाइएको विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरेसम्म सदनको नियमित कार्यसूची अघि बढ्न नसक्ने चेतावनी दिएका छन्।

संसद्मा बजेट छलफल सुरु हुने तयारी भइरहँदा पनि राजनीतिक विवाद चर्किएपछि आगामी दिनमा संसदीय कार्य प्रभावित हुने संकेत देखिएको छ।

सरकार र विपक्षीबीच सहमति नजुटे संसद् अवरोध लम्बिने सम्भावना रहेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com