काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा ले उपभोगमुखी बजेटले दीर्घकालीन रूपमा रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्।
उनले आर्थिक रूपान्तरणका लागि उत्पादनमुखी नीति, औद्योगिक विस्तार र लगानीमैत्री वातावरण अपरिहार्य रहेको स्पष्ट पारेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खतिवडाले सरकारले प्रस्तुत गरेको बजेट उपभोगमुखी प्रकृतिको भएको टिप्पणी गरे।
उनका अनुसार यस्तो बजेटले तत्कालीन खर्च बढाउन सक्ने भए पनि दीर्घकालीन आर्थिक वृद्धि र रोजगारी सिर्जनामा अपेक्षित प्रभाव पार्दैन।
उनले सरकारको आगामी आर्थिक वर्षका लागि राखिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य व्यवहारिक रूपमा प्राप्त गर्न कठिन हुने दाबी गरे।
उक्त लक्ष्य हासिल गर्न आयातमा उल्लेखनीय वृद्धि आवश्यक पर्ने उनको भनाइ छ। खतिवडाका अनुसार कम्तीमा २२ देखि २४ प्रतिशतसम्म आयात वृद्धि भए मात्र आर्थिक गतिविधिमा अपेक्षित सन्तुलन कायम हुन सक्छ।
उनले सरकारले कर नीतिमा स्थायित्वको प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको स्पष्टता नदेखिएको टिप्पणी गरे।
कर संरचनामा बारम्बार हुने परिवर्तनले लगानीकर्ताको विश्वास कमजोर बनाउने भन्दै उनले दीर्घकालीन कर नीति आवश्यक रहेको बताए।
खतिवडाले उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कर संरचना आवश्यक रहेको उल्लेख गर्दै कर्पोरेट कर दर तथा व्यक्तिगत आयकर नीतिमा रणनीतिक सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार कर नीतिले उत्पादन, उद्यमशीलता र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने हो।
उनले साना, मझौला तथा घरेलु उद्योग (एसएमई) क्षेत्रको विस्तार बिना कृषि क्षेत्रबाट औद्योगिक अर्थतन्त्रतर्फको रूपान्तरण सम्भव नहुने बताए।
तर हालको बजेटमा एसएमई क्षेत्रका लागि आवश्यक पुँजी परिचालन, प्रविधि विकास र बजार संरक्षण सम्बन्धी स्पष्ट योजना नदेखिएको उनको आलोचना थियो।
पूर्वअर्थमन्त्री खतिवडाले व्यवसायिक वातावरण सुधार गर्न कर नीतिमा दीर्घकालीन र स्थिर दृष्टिकोण आवश्यक रहेको बताए।
उनका अनुसार लगानीकर्ताको आत्मविश्वास बढाउन स्पष्ट नीति, पूर्वानुमानयोग्य कर संरचना र प्रशासनिक सरलता अनिवार्य छन्।
उनले बोलेर मात्र आर्थिक रूपान्तरण सम्भव नहुने उल्लेख गर्दै व्यवहारिक कार्यान्वयन र उत्पादनमुखी नीति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
आर्थिक विकासका लागि घोषणाभन्दा परिणाममुखी कार्य आवश्यक रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया