काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति लाई लिएर देखिएको विवादका बीच राष्ट्रिय सभाको बैठक मंगलबार पनि स्थगित भएको छ।
सांसदहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि कार्यवाही अघि बढ्न सकेन।
बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले भारतको भूभाग मिचेको भन्ने आशयमा दिएको भनाइप्रति कडा आपत्ति जनाउँदै माफी माग्नुपर्ने माग गरेका थिए।
उनीहरूले उक्त अभिव्यक्तिलाई असंवेदनशील र कूटनीतिक रूपमा अनुचित भएको टिप्पणी गरेका छन्।
सांसदहरूको विरोधपछि बैठक नियमित कार्यसूचीअनुसार अघि बढ्न नसकेपछि सभाको काम कारबाही रोकिएको थियो।
अवरोधका कारण राष्ट्रिय सभा बैठक बुधबार बिहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको छ।
बैठकका क्रममा केही सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमा राजनीतिक सुझबुझको अभाव रहेको भन्दै आलोचना समेत गरेका थिए।
उनीहरूले यस्ता संवेदनशील विषयमा संसद्मा व्यक्त गरिने भनाइहरू प्रमाण र कूटनीतिक जिम्मेवारीसहित हुनुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संघीय संसद्मा देखिएको असन्तुष्टि निरन्तर रहँदा दुवै सदनको कामकाज प्रभावित भइरहेको छ।
सरकार र विपक्षीबीच सहमति नजुट्दा संसदीय प्रक्रिया सहज रूपमा अघि बढ्न सकेको छैन।
यसबीचमा सभामुख र संसदीय दलका नेताहरूले राजनीतिक दलहरूलाई संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै आएका छन्।
तर विवाद कायम रहँदा संसदीय गतिविधि बारम्बार अवरुद्ध हुँदै आएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया