काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओली ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको बचाउ गर्न खोज्नु उचित नहुने बताएकी छन्।
उनले संसद्मा बोल्दै राष्ट्रिय महत्वका विषयलाई सामान्य रूपमा लिन नहुने धारणा व्यक्त गरिन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले केही सांसदहरू प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा लागेको भन्दै असन्तुष्टि जनाइन्।
उनका अनुसार राष्ट्रिय स्वाभिमान र सीमा सम्बन्धी विषयमा राजनीतिक आग्रहभन्दा माथि उठेर तथ्य र जिम्मेवारीका आधारमा छलफल हुनुपर्छ।
उनले विगतमा नेपालको एक इन्च भूमि पनि नछोड्ने अडान लिनेहरू अहिले आफ्नै नेताको बचाउका लागि नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लागेको भन्दै त्यसलाई दुःखद् अवस्था भएको टिप्पणी गरिन्।
सांसद ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी तथा राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय बनेको बताइन्।
प्रधानमन्त्री केवल एक व्यक्ति नभई राज्यको संस्थागत नेतृत्व भएको उल्लेख गर्दै उनले त्यस्तो पदबाट व्यक्त हुने भनाइले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने बताइन्।
उनले सरकारको तर्फबाट आएका अभिव्यक्तिहरूले राष्ट्रिय हित र कूटनीतिक सम्बन्धमा असर पार्न सक्ने भएकाले विषयलाई सामान्य विवादका रूपमा नहेर्न आग्रह गरिन्।
प्रधानमन्त्रीको भनाइलाई “अर्को आशयमा आएको” भन्दै टार्ने प्रयासभन्दा तथ्य र जिम्मेवारीका आधारमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा जारी विवादका बीच विभिन्न राजनीतिक दलका सांसदहरूले फरक–फरक धारणा राखिरहेका छन्।
यही विषयलाई लिएर संसद्को नियमित कामकारबाहीसमेत प्रभावित हुँदै आएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया