काठमाडौं । सत्तारुढ रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिले नेपाललाई थप बलियो बनाएको टिप्पणी गरेको छ।

मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी ले नेपालको सीमा समस्यालाई कूटनीतिक रूपमा समाधान गर्न प्रधानमन्त्रीको भनाइले नयाँ बहस सिर्जना गरेको बताए।

advertisement

उनले दशगजा क्षेत्रमा दुवै देशका तर्फबाट भूउपयोग भइरहेको विषय उठाउँदै सीमा सम्बन्धी समस्या समाधानका लागि अब थप गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।

बुर्लाकोटीले रास्वपा मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने विषयमा स्पष्ट रहेको उल्लेख गर्दै सीमा समस्याको समाधान कूटनीतिक पहलबाट खोजिनुपर्ने बताए।

उनका अनुसार प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा सीमा विवादलाई छिटो समाधान गर्नुपर्ने आवश्यकताप्रति केन्द्रित छ। ‘हाम्रो सीमाको समस्या यथाशीघ्र समाधान हुनुपर्छ र त्यसका लागि कूटनीतिक तवरबाट पहल गर्नुपर्छ भन्ने सन्देश प्रधानमन्त्रीको भनाइले दिएको छ,’ उनले भने।

महामन्त्री बुर्लाकोटीले सीमा सम्बन्धी विषय अन्तर्राष्ट्रिय अभ्यास र आपसी समझदारीका आधारमा टुंग्याउनुपर्ने पनि बताए।

यसैबीच उनले प्रधानमन्त्रीले उपयुक्त समयमा संसद्मा आफ्नो धारणा स्पष्ट पार्ने विश्वास व्यक्त गर्दै विपक्षी दलहरूलाई संसद् अवरुद्ध नगर्न आग्रह गरे। बजेटमाथिको छलफल र पारित प्रक्रियामा ढिलाइ हुन सक्ने भएकाले संसद्को नियमित कामकारबाही सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।

‘रास्वपाको अडान स्पष्ट छ, नेपाली भूमि मिचिन दिनु हुँदैन र मिचिएको भूमि फिर्ता हुनुपर्छ,’ उनले जोड दिए।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com