काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओली ले रास्वपाका नेता तथा कार्यकर्ताहरू देशविरुद्ध प्रमाण खोज्ने गतिविधिमा संलग्न भएको आरोप लगाएकी छिन्।
मंगलबार संघीय संसद्मा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको बचाउमा रास्वपा समर्थकहरू देशकै हितविरुद्ध प्रमाण संकलनमा लागेको दाबी गरिन्।
उनका अनुसार देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्ने भए पनि नेताको एकल अभिव्यक्तिलाई सही साबित गर्न राष्ट्रकै दाबी कमजोर बनाउने काम गर्नु राष्ट्रवाद नहुने बताइन्।
‘आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भने पनि त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेका छन्,’ उनले भनिन्।
ओलीले यस्ता गतिविधिमा रास्वपाका सांसदहरू समेत संलग्न रहेको आरोप लगाउँदै त्यसप्रति सचेत रहन आग्रह गरिन्। उनले व्यक्ति पूजा गर्ने प्रवृत्तिले अन्ततः आफ्नै देशको पक्ष कमजोर बनाउने खतरा हुने बताइन्।
उनका अनुसार प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति कूटनीतिक, कानुनी तथा राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील विषय हो। उनले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत ‘इस्टोपल सिद्धान्त’ अनुसार राज्यका आधिकारिक अभिव्यक्तिहरू पछि अस्वीकार गर्न कठिन हुने भएकाले त्यसले राष्ट्रिय दाबीलाई कमजोर बनाउन सक्ने चेतावनी दिइन्।
ओलीले सार्वजनिक पदाधिकारीहरूले यस्ता विषयमा अत्यन्त सावधानी र कूटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याइन्, किनभने त्यसले देशको अन्तर्राष्ट्रिय छवि र हितमा असर पार्न सक्ने उनको भनाइ छ।
संसदमा गरिएको अभिव्यक्तिलाई आंशिक रूपमा सच्याउन वा व्याख्या गर्न सकिने भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा गइसकेको सन्देश फिर्ता लिन नसकिने उनले स्पष्ट पारिन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे गम्भीर छलफल आवश्यक रहेको भन्दै सर्वदलीय बैठक बोलाउन पनि सुझाव दिएकी छिन्।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया