काठमाडौं। पूर्वअर्थमन्त्री महेश आचार्यले २०४८ सालमा आफूले प्रस्तुत गरेको पहिलो बजेट र तत्कालीन राजा वीरेन्द्रसँग भएको पहिलो भेटलाई स्मरण गर्दै त्यस अनुभवलाई अविस्मरणीय बताएका छन्।
आचार्यका अनुसार बहुदलीय लोकतन्त्र पुनःस्थापनापछिको पहिलो निर्वाचित सरकारको बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्रीले राजालाई बजेटका मूल सिद्धान्त र विनियोजनबारे जानकारी गराउने प्रचलन थियो।

बजेट प्रस्तुत गर्नुअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला केही चिन्तित देखिएको स्मरण गर्दै उनले आफ्नो उमेर, सीमित अनुभव तथा दरबारको अपरिचित वातावरणका कारण प्रधानमन्त्रीमा केही आशंका रहेको हुनसक्ने उल्लेख गरेका छन्।
उनी भन्छन्, त्यसै कारण प्रधानमन्त्री कोइरालाले चलनविपरीत आफूलाई आफ्नै गाडीमा दरबार लैजानुभएको थियो।

advertisement

दरबारमा राजा वीरेन्द्रसँगको पहिलो भेट अत्यन्त सौम्य, शान्त र आत्मीय रहेको उनको अनुभव छ।
आचार्यका अनुसार बजेट प्रस्तुतिको क्रममा उनले पञ्चायतीकालीन राज्य नियन्त्रणको ढाँचा हटाउँदै उदार तथा प्रतिस्पर्धी अर्थतन्त्रतर्फको संरचनागत परिवर्तन, निजी क्षेत्रको प्रवर्द्धन तथा आर्थिक सुधारका प्राथमिकताबारे जानकारी गराएका थिए। राजा वीरेन्द्रले ती विषय गम्भीरतापूर्वक सुनेका थिए।
भेटका क्रममा राजा वीरेन्द्रले दुई महत्वपूर्ण सुझाव दिएको आचार्यले स्मरण गरेका छन्।

पहिलो, आर्थिक सुधारका सकारात्मक प्रभाव र यसको महत्व आम नागरिकसम्म विश्वास दिलाउने गरी कसरी पुर्‍याउने भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाव थियो।

दोस्रो, सुधार प्रक्रियामा प्रतिपक्षी दललाई समेत कसरी सहभागी गराउने भन्ने विषयमा सरकारले गम्भीर संवाद र परामर्श गर्नुपर्ने धारणा राजा वीरेन्द्रले राखेका थिए।
जवाफमा आफूले बजेट प्रस्तुतिपछि सञ्चारमाध्यमसँगको अन्तर्क्रिया, निजी क्षेत्रसँगको छलफल तथा संसदीय बहसमार्फत ती विषयमा पर्याप्त अवसर प्राप्त हुने विश्वास व्यक्त गरेको आचार्यले बताएका छन्।
उनका अनुसार त्यसपछि राजा वीरेन्द्रले दिएको अर्को स्नेहपूर्ण सुझाव थियो– “प्रेससँग धैर्यतापूर्वक संवाद गर्नु।”
दरबारबाट फर्किएपछि प्रधानमन्त्री कोइराला तनावमुक्त र आश्वस्त देखिएको उल्लेख गर्दै आचार्यले प्रधानमन्त्रीले आफूलाई हाँस्दै, “तिमी त राजासँग कुनै धक नमानी फटाफट बोल्दा रहेछौ,” भनेको पनि स्मरण गरेका छन्।

पूर्वअर्थमन्त्री आचार्यले स्वर्गीय राजा वीरेन्द्रको भद्र, मित्रवत् र स्नेहपूर्ण व्यक्तित्व आज पनि आफ्नो स्मृतिमा जीवन्त रहेको बताएका छन्।

साथै, आर्थिक सुधारबारे राजा वीरेन्द्रले दिएका सुझावहरू वर्तमान सन्दर्भमा समेत उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com