काठमाडौं। सरकारी अस्पतालहरूमा लामो समयदेखि बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो।
छलफलमा सरकारी अस्पतालमा थन्किएका उपकरणहरूको अवस्था पहिचान गरी तिनलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउने व्यवस्था मिलाउने विषयमा सहमति भएको जनाइएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा प्राविधिक टोलीमार्फत उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनको काम अघि बढाइने अपेक्षा गरिएको छ।
यस पहलले अस्पतालहरूमा सेवा प्रवाह सुधार गर्न, उपचार सेवामा देखिएको अवरोध घटाउन र नयाँ उपकरण खरिदमा हुने ठूलो खर्च बचत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सरकारी लगानीमा खरिद गरिए पनि मर्मत तथा प्राविधिक सहयोग अभावमा थन्किएका उपकरणहरू पुनः प्रयोगमा ल्याउन सकिए स्वास्थ्य सेवा प्रणाली थप प्रभावकारी बन्ने र बिरामीहरूले गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।
यो सहकार्यलाई स्वास्थ्य पूर्वाधार व्यवस्थापन सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया