काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, देशप्रेम र जनताको हितका सवालमा आफू कुनै पनि दबाब वा धम्कीसमक्ष नझुक्ने बताएका छन्।
बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले आफ्नो राजनीतिक जीवन देश र जनताको पक्षमा समर्पित रहेको उल्लेख गर्दै अन्तिम क्षणसम्म त्यसबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरे।
‘म व्यक्तिगत रूपमा ढल्न सक्छु, पराजित हुन सक्छु, तर घुँडा टेक्ने छैन,’ उनले भने, ‘मेरो शिर काटिन सक्छ, तर आत्मसमर्पण गर्ने वा आफ्नो अडान त्याग्ने छैन।’
अध्यक्ष ओलीले विगत छ दशकदेखि देश, जनता र राष्ट्रिय स्वाभिमानको पक्षमा संघर्ष गर्दै आएको स्मरण गराउँदै आफ्नो संकल्प र प्रतिबद्धतामा कुनै कमी नआएको बताए।
उनले राष्ट्रिय हित र स्वाधीनतासँग जोडिएका विषयमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै प्रतिक्रियावादी शक्तिका दबाब, धम्की वा प्रलोभनबाट आफू प्रभावित नहुने दाबी गरे।
देशको सार्वभौमिकता, राष्ट्रिय एकता र जनताको अधिकारको रक्षाका लागि आफ्नो संघर्ष निरन्तर जारी रहने उनले बताए।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया