काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे भइरहेको चर्चा अनावश्यक रहेको भन्दै उनी पार्टीको पुरानो सदस्य भएको स्पष्ट पारेका छन्।
एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले भण्डारी २०३७ सालदेखि पार्टीको सदस्य रहेको र राष्ट्रपति बनेपछि उनको सदस्यता निष्क्रिय अवस्थामा रहेको बताए।
उनले राष्ट्रपति पदमा रहँदा भण्डारी कुनै पनि राजनीतिक दलको सदस्य नरहेको उल्लेख गर्दै पदमुक्त भएपछि पार्टीको विधि र प्रक्रियाअनुसार पुनः सदस्यता प्राप्त गरेको स्पष्ट पारे।
‘राष्ट्रपति रहँदा उहाँ पार्टी सदस्य हुनुहुन्न थियो। त्यसैले त्यतिबेला सदस्यता नवीकरणको प्रश्न नै उठ्दैनथ्यो,’ ओलीले भने, ‘केन्द्रीय कमिटीले सदस्यता पुनः सक्रिय गर्न आवेदन दिन आग्रह गरेको थियो। उहाँले आवेदन दिनुभयो, त्यसपछि पार्टीले निर्णय गरेर सदस्यता प्रदान गरेको हो।’
ओलीका अनुसार भण्डारी २०३४ सालदेखि राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएकी हुन् भने २०३७ सालदेखि औपचारिक रूपमा एमालेको सदस्य रहँदै आएकी छन्।
उनले भण्डारीको सदस्यतासम्बन्धी विषयलाई अनावश्यक विवाद वा प्रतिस्पर्धाको विषय नबनाउन आग्रह गर्दै संगठनभित्र विधि, प्रक्रिया र अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए।
‘यो हारजितको विषय होइन। हरेक कुरामा विवाद खोज्ने, निहुँ थाप्ने वा अनावश्यक बहस गर्ने प्रवृत्तिबाट टाढा रहनुपर्छ,’ उनले भने, ‘हामी संगठनको निर्णय र प्रक्रियालाई सम्मान गर्दै उच्च मनोबलका साथ आगामी जिम्मेवारीका लागि तयार हुनुपर्छ।’
अध्यक्ष ओलीले पार्टीभित्र एकता, अनुशासन र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह समेत गरे।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया