काठमाडौं। राष्ट्रपति कार्यालय शीतल निवासमा सजावटका लागि राखिएका हात्तीका दाह्रा चोरी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
उनीहरूबाट दाह्राका टुक्रा तथा लागूऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखा धार्चे–४ का २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौँ–१७ का २७ वर्षीय आयुष महर्जन रहेका छन्।
त्यसैगरी बैतडी डिलासैनी–३ का २४ वर्षीय पुरन बोहरा र गोरखा अजिरकोट–४ का २० वर्षीय सन्तबहादुर भुजेल पनि पक्राउ परेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री भइरहेको सूचना पाएपछि अनुसन्धान अघि बढाइएको थियो।
सो क्रममा पहिलो चरणमा तीन जनालाई नियन्त्रणमा लिइएको थियो।
उनीहरूको बयानका आधारमा थप अनुसन्धान गर्दै दाह्रा टुक्रा पारेर लुकाइएको स्थान र अन्य संलग्न व्यक्तिहरूको पहिचान गरिएको हो।
अनुसन्धानका क्रममा राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा दाह्राका टुक्रा भेटिएको प्रहरीले जनाएको छ।
सोही घर खानतलासी गर्दा थप दाह्राका टुक्रा र ट्रामाडोल नामक लागूऔषधका १५० चक्की समेत फेला परेका थिए।
पछिल्ला अनुसन्धानका क्रममा टोखा बस्ने पुरन बोहराको संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो।
उनको बयानका आधारमा सन्तबहादुर भुजेलको कोठाबाट झ्यालमार्फत लुकाइएका थप दाह्राका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले चोरी गरिएको दाह्रालाई आपसमा बाँड्नका लागि टुक्रा बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी कानुन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।
प्रहरीले बरामद दाह्रा शीतल निवासबाटै चोरी भएको पुष्टि भएको जनाएको छ।
यसअघि जेनजी आन्दोलनका क्रममा शीतल निवासमा प्रवेश गरी भएको तोडफोड र अव्यवस्थाको समयमा उक्त दाह्रा हराएको बताइएको छ। करिब नौ महिनापछि घटनामा संलग्नहरू पक्राउ परेका हुन्।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया