काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुनै पनि अर्थमा तुलना हुन नसक्ने दाबी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले प्रधानमन्त्री बालेनको कार्यशैली अधिनायकवादी र निरंकुश भएको बताए।

advertisement

बस्नेतले अध्यक्ष ओलीलाई एक अनुभवी राष्ट्रवादी र लोकतन्त्रवादी नेताका रूपमा चित्रण गर्दै प्रधानमन्त्री बालेनले मुलुकमा महँगी र आतंक मात्र सिर्जना गरेको आरोप लगाए।

‘केपी ओली राष्ट्रवादी र लोकतन्त्रवादी नेता हुनुहुन्छ, जसले लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन बिताउनुभयो,’ बस्नेतले सुनाए, ‘तर प्रधानमन्त्री बालेन शाह लोकतन्त्रविरोधी र निरंकुश शासक हुन्। यी दुईबीच कुनै तुलना हुनै सक्दैन।’

सचिव बस्नेतले प्रधानमन्त्री बालेनको नेतृत्वमा मुलुकमा महँगी अत्यधिक बढेको र दैनिक उपभोग्य वस्तुदेखि हवाई यातायातसम्मको मूल्य आकाशिएको दाबी गरे।

बालेनले गरिब जनताको पक्षमा काम गर्नुको साटो दलाल नोकरशाही र पुँजीपति वर्गलाई मात्र प्रश्रय दिएको उनको जिकिर थियो। उनले थपे, ‘बालेनले अहिले विकास कहाँ पुर्‍याए ? महँगी कहाँ पुग्यो ? ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट लगाउने बजेट ल्याएर उनले गरिबमारा नीतिको पक्षपोषण गरेका छन्।’

गृह प्रशासनको आलोचना गर्दै बस्नेतले अहिलेको प्रहरी प्रशासन प्रधानमन्त्री बालेनको ओकालत गर्ने संयन्त्रमा परिणत भएको आरोप समेत लगाए।

प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत गृह मन्त्रालय चलाइरहेको टिप्पणी गर्दै बस्नेतले बालेनको यस्तो कार्यशैलीले मुलुकलाई संकटतर्फ धकेल्ने चेतावनी दिए।

पार्टी नेतृत्वको सन्दर्भमा चर्चा गर्दै बस्नेतले एमालेको विधानअनुसार अध्यक्ष ओलीले नै आगामी कार्यकालसम्म नेतृत्व गर्ने प्रष्ट पारे। ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प र प्रधानमन्त्री बालेनको छणिक र अराजक लोकप्रियता बीच ठूलो अन्तर रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com