काठमाडौं। चर्चित हास्य कलाकार तथा अभिनेता जितु नेपाल द्वारा निर्माण तथा अभिनीत चलचित्र ‘आई एम जीतबहादुर’ प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार–प्रसार शैली ले नेपाली चलचित्र क्षेत्रमा चर्चा पाएको छ।
आगामी असार ५ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको प्रचारका लागि जितु नेपाल ले समसामयिक राजनीतिक परिवेशलाई हास्यात्मक ढङ्गले प्रस्तुत गर्दै विभिन्न छोटा भिडियोहरू सार्वजनिक गरिरहेका छन्।
हालै सार्वजनिक गरिएको एक भिडियोमा उनले चलचित्र हेर्नका लागि संसद् बैठकबाट दुई घण्टा १७ मिनेट समय छुट्याइएको भन्दै व्यंग्यात्मक प्रस्तुति दिएका छन्, जसले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुलेको छ।

नेपाली चलचित्रको परम्परागत प्रचार शैलीभन्दा फरक ढङ्गले तयार गरिएका यस्ता सिर्जनात्मक सामग्रीले दर्शकमाझ चलचित्रबारे उत्सुकता बढाएको देखिन्छ।
समसामयिक विषयवस्तुसँग चलचित्र प्रचारलाई जोड्ने प्रयास नेपाली चलचित्र बजारमा अपेक्षाकृत नौलो अभ्यासका रूपमा हेरिएको छ।
‘आई एम जीतबहादुर’ सम्बन्धी यस्ता नयाँ–नयाँ अवधारणामा आधारित भिडियोहरू जितु नेपालको आधिकारिक सामाजिक सञ्जालका साथै विभिन्न मनोरञ्जन पृष्ठहरूबाट समेत सार्वजनिक भइरहेका छन्।
यसले चलचित्रको पहुँच विस्तार गर्न र विविध उमेर समूहका दर्शकसम्म पुर्याउन सहयोग पुगेको निर्माण टिमको भनाइ छ।
विशेषगरी डिजिटल युगमा दर्शकको ध्यान आकर्षित गर्न सिर्जनात्मक र समयानुकूल प्रचार रणनीति आवश्यक मानिन्छ।
यही सन्दर्भमा ‘आई एम जीतबहादुर’ को प्रचार अभियान नेपाली चलचित्र क्षेत्रका लागि सकारात्मक, प्रयोगशील र प्रभावकारी मार्केटिङ अभ्यासको उदाहरण बन्न सक्ने देखिएको छ।
चलचित्र सफल बनाउन केवल पोस्टर र ट्रेलर मात्र नभई दर्शकसँग प्रत्यक्ष संवाद स्थापित गर्ने नवीन सोच आवश्यक पर्ने अवस्थामा ‘आई एम जीतबहादुर’ ले अपनाएको प्रचार शैलीलाई नेपाली चलचित्र उद्योगमा सकारात्मक परिवर्तनको संकेतका रूपमा समेत हेरिएको छ।
भिडियोहरू:
https://www.facebook.com/share/v/1bNBLGu1hU/
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया