काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्टि सार्वजनिक रूपमै बाहिरिएको छ। पार्टीका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी तथा नेता केशवराज श्रेष्ठलगायत १८३ जना नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।
बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले राप्रपासँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका हुन्। पार्टीको वर्तमान कार्यदिशा, नेतृत्व शैली र संगठन सञ्चालनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पहिलो चरणमा सामूहिक रूपमा पार्टी छाड्ने निर्णय गरेको बताएका छन्।
पार्टी त्याग गर्नेहरूमा केन्द्रीय सदस्य, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा जिल्लास्तरीय नेता–कार्यकर्तासमेत रहेका छन्। उनीहरूले राप्रपाले घोषित उद्देश्य र राजनीतिक प्रतिबद्धताअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।
संयुक्त वक्तव्यमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित भएको तथा कार्यकर्ताको भावना र सुझावलाई बेवास्ता गरिएको उल्लेख गरिएको छ।
राप्रपाका प्रभावशाली नेताहरूको सामूहिक बहिर्गमनलाई पार्टीका लागि ठूलो राजनीतिक झट्काका रूपमा हेरिएको छ। आगामी दिनमा थप नेता–कार्यकर्ता पनि पार्टीबाट बाहिरिन सक्ने संकेत वक्तव्यमा गरिएको छ।






प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया