काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुनै पनि आधारमा तुलना हुन नसक्ने बताएका छन्। उनले ओलीलाई अनुभवी, लोकतन्त्रप्रति प्रतिबद्ध र राष्ट्रहितका पक्षमा उभिने नेता भएको उल्लेख गर्दै प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि तीव्र आलोचना गरेका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री शाहको नेतृत्वमा मुलुकको आर्थिक अवस्था झन् जटिल बनेको दाबी गरे। उनले दैनिक उपभोग्य वस्तुदेखि हवाई यातायातसम्मको खर्च बढेको उल्लेख गर्दै जनजीवन महँगीको मारमा परेको बताए।
बस्नेतले अध्यक्ष ओलीले लोकतन्त्र र राजनीतिक अधिकारका लागि लामो संघर्ष गरेको स्मरण गराउँदै वर्तमान प्रधानमन्त्रीको शैली लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल नखाने आरोप लगाए। उनका अनुसार ओलीको राजनीतिक यात्रा र योगदान तथा बालेनको नेतृत्व शैलीबीच ठूलो अन्तर छ।
सरकारको आर्थिक नीतिमाथि प्रश्न उठाउँदै उनले पछिल्लो बजेटले सर्वसाधारणलाई राहत दिन नसकेको टिप्पणी गरे। ५० युनिटभन्दा बढी विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाले निम्न तथा मध्यम आय भएका नागरिकमाथि थप आर्थिक भार परेको उनको भनाइ थियो।
बस्नेतले वर्तमान सरकारले गरिब र श्रमिक वर्गका समस्याभन्दा सीमित स्वार्थ समूहलाई प्राथमिकता दिएको आरोपसमेत लगाए। विकास र आर्थिक सुधारका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको दाबी गर्दै उनले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए।
गृह प्रशासन र सुरक्षा संयन्त्रबारे पनि टिप्पणी गर्दै बस्नेतले राज्यका निकायहरू राजनीतिक प्रभावमा परेको आरोप लगाए। प्रधानमन्त्रीको सचिवालयले प्रत्यक्ष रूपमा प्रशासनिक निर्णयहरू प्रभावित गरिरहेको उनको जिकिर थियो।
एमालेको नेतृत्वबारे उठेका प्रश्नमा उनले पार्टी विधानअनुसार अध्यक्ष केपी शर्मा ओली नै आगामी कार्यकालसम्म नेतृत्वमा रहने स्पष्ट पारे। साथै, ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान दीर्घकालीन राष्ट्रिय दृष्टिकोणमा आधारित रहेको उल्लेख गर्दै त्यसको तुलना क्षणिक लोकप्रियतासँग गर्न नसकिने बताए।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया