काठमाडौं। युक्रेनको युद्ध मैदान मा उल्लेखनीय सफलता हासिल गर्न सङ्घर्ष गरिरहेको अवस्थामा रुसले पछिल्ला महिनाहरूमा युक्रेनमाथि हवाई आक्रमण को मात्रा उल्लेखनीय रूपमा बढाएको छ ।
रुसले अहिले पहिलेभन्दा धेरै ड्रोन र उच्च गतिका क्षेप्यास्त्र प्रयोग गर्दै युक्रेनमाथि व्यापक आक्रमण गरिरहेको छ ।
गत मङ्गलबार भएको ठुलो आक्रमणमा रुसले सस्तो ड्रोनहरूको विशाल झुन्ड, त्यसपछि ब्यालिस्टिक क्षेप्यास्त्र र त्यसपछाडि क्रुज मिसाइल प्रयोग गरेर युक्रेनी हवाई प्रतिरक्षा प्रणालीलाई थकित बनाउने रणनीति अपनायो ।
सैन्य विश्लेषकहरूका अनुसार यस्तो रणनीतिले धेरै क्षेप्यास्त्रहरू लक्ष्यसम्म पुग्न सफल हुने सम्भावना बढाउँछ ।
युक्रेनी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा रुसले एकै पटक आठ वटा जिर्काेन हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रहार गरेको थियो ।
अत्यन्त तीव्र गतिका यी क्षेप्यास्त्रहरूलाई रोक्न निकै कठिन मानिन्छ । युक्रेनी पक्षका अनुसार प्रहार गरिएका आठ वटै जिर्काेन क्षेप्यास्त्रलाई अवरोध गर्न सम्भव भएन ।
मंगलबारको आक्रमणमा देशभर कम्तीमा २३ जनाको मृत्यु भएको छ भने १५१ जना घाइते भएका छन् ।
विशेषज्ञहरूका अनुसार यस्ता आक्रमणको उद्देश्य केवल भौतिक क्षति पुर्याउनु मात्र नभई सर्वसाधारणमा भय फैलाउनु र युक्रेनी नेतृत्वमाथि युद्ध अन्त्य गर्न जनदबाब सिर्जना गर्नु पनि हो ।
युद्ध मैदानमा रुसलाई कठिनाइ
बेलायतस्थित रक्षा तथा सुरक्षा अध्ययन संस्था रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका सैन्य विज्ञ थोमस विथिङ्टनका अनुसार रुसले युद्ध भूमिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न नसकेकाले हवाई शक्तिमाथि निर्भरता बढाएको हो ।
उनका अनुसार अप्रिल महिनामा सन् २०२४ पछि पहिलोपटक युक्रेनले रुसले कब्जा गरेको भन्दा बढी भूभाग पुनः आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।
‘यदि रुसले जमिनमा अपेक्षित प्रगति गर्न सकिरहेको छैन भने युक्रेनमाथि दबाब सिर्जना गर्ने सबैभन्दा प्रभावकारी माध्यम अहिले हवाई शक्ति नै बनेको छ,’ विथिङ्टनले भने ।
अमेरिकास्थित रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको विश्लेषणअनुसार यस वर्षको सुरुआतमा रुसले मासिक करिब ५ हजार शाहेद आक्रमणकारी ड्रोन प्रक्षेपण गर्ने गरेको थियो ।
तर गत महिना यो सङ्ख्या बढेर ८ हजारभन्दा बढी पुगेको छ ।
विश्लेषकहरूका अनुसार आक्रमणको आकार र सङ्ख्या अत्यधिक बढे पनि युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले उल्लेखनीय प्रदर्शन गरिरहेको छ ।
युक्रेनले हाल पनि करिब ९० प्रतिशत ड्रोनहरू खसाल्न सफल भइरहेको छ ।
साथै इलेक्ट्रोनिक युद्ध प्रणालीको प्रयोग गरेर धेरै ड्रोन तथा हतियारहरूलाई बस्ती क्षेत्रबाट अन्यत्र मोड्न समेत सफल भएको बताइएको छ ।
यद्यपि रुसको बढ्दो हवाई आक्रमणले युक्रेनका नागरिक, पूर्वाधार तथा ऊर्जा संरचनामाथि निरन्तर खतरा सिर्जना गरिरहेको छ । युद्ध लम्बिँदै जाँदा दुवै पक्षको सैन्य रणनीति थप जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया