ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही गरिएको हो।
पार्टीको केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले राजेश राय यादवलाई अन्तिम निर्णय नभएसम्मका लागि जिल्ला सभापतिको जिम्मेवारी र अधिकार प्रयोग गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको जनाएको छ। बैठक समिति संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको थियो।
अनुशासन समितिका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई पराजित गराउन सक्रिय भूमिका खेलेको आरोपसहित यादवविरुद्ध उजुरी परेको थियो। सोही उजुरीमाथि छानबिन अघि बढाउँदै समितिले पहिलो चरणमा गत वैशाख ३० गते पाँच दिनको समय दिएर स्पष्टीकरण मागेको थियो।
तोकिएको अवधिमा कुनै जवाफ प्राप्त नभएपछि समितिले जेठ १२ गते पुनः तीन दिनको समयसीमा निर्धारण गर्दै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। तर, त्यसबेला पनि यादवले कुनै प्रतिक्रिया नदिएको समितिको भनाइ छ।
दुई पटकसम्म स्पष्टीकरणको अवसर दिँदा पनि जवाफ नआएपछि घटनाबारे थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै समितिले उनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ। अब छानबिन प्रक्रिया पूरा भएपछि यस विषयमा अन्तिम निर्णय लिइने कांग्रेसले जनाएको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया