काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको आर्थिक, सामाजिक र पर्यावरणीय रूपान्तरणका लागि आफ्नो पार्टीले ‘हरित क्रान्ति’ अभियान अघि बढाउने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले विगतका राजनीतिक आन्दोलन र क्रान्तिहरूले शासन व्यवस्था परिवर्तन गरे पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको टिप्पणी गरे।
उनले विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनहरूले व्यवस्था परिवर्तनमा भूमिका खेलेको स्वीकार गर्दै अब देशको उत्पादन, रोजगारी र आर्थिक आत्मनिर्भरतामा केन्द्रित नयाँ अभियान आवश्यक रहेको बताए।
“उज्यालो नेपाल पार्टीले अब नेपालमा हरित क्रान्ति अघि बढाउँछ। विगतमा विभिन्न नाममा भएका क्रान्तिहरूले राजनीतिक परिवर्तन त ल्याए, तर देशको आर्थिक अवस्था परिवर्तन गर्न सकेनन्,” घिसिङले भने।
अध्यक्ष घिसिङले पछिल्लो राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै नयाँ राजनीतिक नाराहरू मात्र पर्याप्त नहुने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको ‘नीलो क्रान्ति’ को अवधारणाको समेत उल्लेख गर्दै दीर्घकालीन परिवर्तनका लागि उत्पादनमुखी र वातावरणमैत्री नीति आवश्यक रहेको धारणा राखे।
उनका अनुसार उज्यालो नेपाल पार्टीले प्रस्ताव गरेको हरित क्रान्ति कृषि, ऊर्जा, वातावरण संरक्षण, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको प्रवर्द्धनमा केन्द्रित हुनेछ।
यसमार्फत देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र दिगो विकासको आधार तयार गर्ने लक्ष्य रहेको उनले बताए।
घिसिङले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको उल्लेख गर्दै अबको आवश्यकता आर्थिक समृद्धि, उत्पादन वृद्धि र पर्यावरणीय सन्तुलन कायम गर्ने अभियान भएको दाबी गरे।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया