काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि एउटा महत्वपूर्ण अध्ययनको विषय बनेको बताइन् ।
निर्वाचन आयोगद्वारा आज आयोजित केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
पूर्वप्रधानमन्त्री कार्कीले यस निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ पुस्ताका प्रतिनिधिहरू विजयी भएर आएको उल्लेख गर्दै जनताले दिएको सो मतको उच्च सम्मान हुनुपर्ने र उनीहरूलाई जनअपेक्षा अनुसार काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिए ।
निर्वाचनलाई शान्तिपूर्ण र सफल रूपमा सम्पन्न गराउन तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मी लगायतका सबै सरोकारवालाहरूले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै उनले प्रशंसा समेत गरिन् ।
कार्यशालामा बोल्दै पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकको विषम परिस्थितिका बाबजुद पनि सरकार, आयोग र सम्बद्ध सबै पक्षको आपसी सहयोगका कारण कुनै पनि हिंसात्मक घटना विना नै निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताइन् ।
त्यसैगरी, पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले यस निर्वाचनमा देखिएको ‘जेनजी’ आन्दोलनको विद्रोही भावना र नागरिकको चाहना अनुसार अब देशमा सुशासन तथा बलियो राजनीतिक संस्कार कायम हुनुपर्ने धारणा राखिन् ।
उनले जनताको यही भावनालाई आत्मसात् गर्दै मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लैजानु आजको मुख्य आवश्यकता रहेको कुरामा विशेष जोड दिए ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया