काठमाडौं। राष्ट्रिय जेनजी नागरिक अभियानले भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना अभियन्तामाथि प्रहरी हिरासतमै दुर्व्यवहार भएको आरोप लगाउँदै सरकारको भूमिकाप्रति गम्भीर आपत्ति जनाएको छ।

अभियानले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि तथा विभिन्न सीमाक्षेत्रमा भारतले अतिक्रमण गरेको विषयमा विरोध जनाउन लैनचौरस्थित भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा आफ्ना चार जना अभियन्तालाई पक्राउ गरी २४ घण्टा हिरासतमा राखिएको जनाएको छ।

advertisement

अभियानका अनुसार हिरासतमा रहेका अभियन्तामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङले पुगेर धम्कीपूर्ण व्यवहार गरेको, अपशब्द प्रयोग गरेको तथा “देखाइदिन्छु” भन्दै त्रास सिर्जना गरेको आरोप लगाइएको छ।

यसअघि उक्त घटनाबारे सार्वजनिक धारणा व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरिएको भए पनि सरकारले हालसम्म कुनै प्रक्रिया अघि नबढाएको अभियानको दाबी छ।

सरकारको मौनता र निष्क्रियताले गलत प्रवृत्तिलाई संरक्षण गरिरहेको निष्कर्षसहित थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको अभियानले जनाएको छ।

अभियानले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही तथा नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

पत्रकार सम्मेलनमा अभियानका आगामी कार्यक्रम, आन्दोलनको रणनीति तथा हिरासतमा भएको भनिएको व्यवहारबारे थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

पत्रकार सम्मेलनको विवरण:

मिति : २०८३ जेठ २२ गते, शुक्रबार
समय : साँझ ५:०० बजे
स्थान : संवाद डबली
आयोजक : राष्ट्रिय जेनजी नागरिक अभियान
अभियानले कार्यक्रममा सञ्चारकर्मी, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूलाई उपस्थित भई घटनाबारे जानकारी लिन आग्रह गरेको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com