काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार नेपाल फर्किंदै छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत पुगेका लामिछाने नयाँ दिल्ली हुँदै काठमाडौं आउन लागेका हुन्।
उनको सचिवालयका अनुसार लामिछाने शुक्रबार साँझ करिब ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेठ १८ गते भारत प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।
जेठ १९ गते सम्पन्न भेटघाटमा लामिछानेले भाजपा अध्यक्ष नीतिन नवीन, भारतीय गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री डा. एस. जयशंकरसँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी चासोका विषयमा छलफल गरेका थिए।
भ्रमणको अर्को महत्त्वपूर्ण कार्यक्रमअन्तर्गत उनले जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको उक्त भेटलाई नेपाल–भारत सम्बन्धको सन्दर्भमा महत्त्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।
दिल्ली बसाइका क्रममा लामिछानेले त्यहाँ रहेका नेपाली समुदाय तथा प्रवासी नेपालीहरूसँग पनि अन्तरक्रिया गरेका थिए। प्रवासी नेपालीलाई सम्बोधन गरेपछि उनी बिहीबार साँझ धार्मिक नगरी अयोध्या पुगेका थिए।
अयोध्या भ्रमणका क्रममा उनले राम मन्दिरमा दर्शन तथा पूजाआजा गरेका थिए। धार्मिक तथा सांस्कृतिक महत्वको उक्त भ्रमणपछि उनी शुक्रबार नेपाल फर्किन लागेका हुन्।
रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि लामिछानेको यो भारत भ्रमणलाई उच्च राजनीतिक महत्वका साथ हेरिएको छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया