काठमाडौं। नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमति भएको छ ।
शुक्रबार बृहत राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ दुर्गा प्रसाईंको अध्यक्षतामा राजनीतिक दल निर्माण गर्ने सहमति गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले समसामयिक राष्ट्रिय विषय, आगामी सहकार्य तथा एकताबारे धारणा सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपालका प्रमुख राजनीतिक दलहरू तथा तिनका नेताहरूमाथि तीव्र आलोचना गरे ।
उनले विगतमा आफूले पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई एक ठाउँमा ल्याएर दुई कम्युनिस्ट पार्टीबीच एकता गराएको स्मरण गर्दै त्यसबाट देशले राजनीतिक स्थिरता, सुख, शान्ति र समृद्धिको बाटो समात्ने अपेक्षा गरेको बताए । तर, ती आशा पूरा नभएको दाबी गर्दै उनले दुवै नेतामाथि स्वार्थकेन्द्रित राजनीति गरेको आरोप लगाए ।
उनले भने, ‘मैंले हिजोका दिनमा माओवादीको प्रचण्ड, एमालेका खड्ग प्रसाद ओली अर्थात् केपी ओलीलाई राखेर मिलाएको थिएँ ।
यही ठाउँमा राखेर दुई कम्युनिस्ट पार्टी एक भयो भने देशले निकास पाउँछ, नेपाली जनताले सुख, शान्ति र अमन चयनको श्वास फेर्छन् भन्ने ठूलो आशा गरेको थिएँ ।
तर भएन । दुवै दलाल निस्किए, दुवै व्यापारी निस्किए । देशमा कम्युनिस्ट नै रहेनछन् । खाली कमाउने मात्र रहेछन् ।’
प्रसाईंले नेपाली कांग्रेसमाथि पनि कटाक्ष गर्दै उक्त पार्टी सामन्तवादी प्रवृत्तिको रहेको टिप्पणी गरे ।
साथै, वर्तमान राजनीतिक दलहरूबाट देशको विकास सम्भव नरहेको निष्कर्षमा आफू पुगेको बताए ।
उनले राजसंस्था पुनर्स्थापनाका लागि आफूले विभिन्न प्रयास गरेको उल्लेख गर्दै झापाको मेची किनारसम्म पूर्वराजालाई लैजाने क्रममा प्रमुख राजनीतिक दलहरूबाट अवरोध भएको आरोप लगाए ।
उनले राजेन्द्र लिङ्देनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राप्रपाले धर्म र राजसंस्थाको मुद्दा चुनावी लाभका लागि मात्र प्रयोग गरेको आरोप लगाए ।
अर्को प्रसंगमा प्रसाईंले आफ्नो अभियानका क्रममा पटक–पटक आक्रमण, विरोध र कानुनी कारबाहीको सामना गर्नुपरेको बताए ।
उनले आफू १४ पटक जेल बसेको दाबी गर्दै विभिन्न शक्ति केन्द्रहरूले आफूलाई निशाना बनाएको आरोप लगाए ।
उनले पूर्वप्रधानमन्त्री केपी ओली, सुशीला कार्की तथा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहको नाम उल्लेख गर्दै आफूविरुद्ध विभिन्न कदम चालिएको दाबी गरे ।
उनले भने, ‘अगाडि बढ्दै गर्दा हामीलाई पटक पटक प्रहार गरियो ।
धावा बोलियो, कालो मोसो दलियो । म १४ पटक त जेल बसे । केपी ओलीले मात्र होइन, सुशीला कार्की र अहिले आएर बालेनले पनि हाल्यो ।
सबैभन्दा ठूलो लक्ष्य के हो ? दुर्गा प्रसाईंलाई पक्राउ नगरिकन केही हुँदैन । डर नै दुर्गा प्रसाईं हो, अरु होइन ।’
प्रसाईंले आफ्नो गिरफ्तारीलाई केही पक्षहरूको प्रमुख लक्ष्य बनाइएको आरोप लगाउँदै आफू अझै प्रभावशाली रहेको दाबीसमेत गरे ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया