काठमाडौं। धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला सयपत्री फूल खेती समापन गर्दै धान तथा मौसमी तरकारी खेतीको तयारीमा जुटेका छन्। माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्दै उनीहरूले नयाँ बाली लगाउने तयारी थालेका हुन्।
किसानहरूका अनुसार दशैं–तिहारजस्ता पर्वका बेला सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरे पनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ। पर्वका समयमा प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने फूल अहिले प्रतिकिलो ५० रुपैयाँमै बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ।

दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी स्थानीय किसान फूलमाया तामाङका अनुसार सिजनमा व्यापारीहरू बारीमै पुगेर फूल खरिद गर्ने र राम्रो मूल्य दिने गरे पनि अहिले उत्पादन बजारसम्म आफैं पठाउनुपर्ने अवस्था छ। उनले अहिले फूल गाडीमार्फत काठमाडौँको कालिमाटी बजार पठाइरहेको बताइन्।
“मूल्य निकै घटेको छ। अब फूल खेतीको अन्तिम समय भएकाले बारी निखार्ने काम भइरहेको छ,” उनले भनिन्। फूलबारी खाली गरेपछि धान तथा विभिन्न मौसमी तरकारी खेती सुरु गरिने उनले जानकारी दिइन्।
स्थानीय किसान सुन्तली तामाङ र उनका श्रीमान् पनि यतिबेला फूल टिप्न व्यस्त छन्। उनीहरूका अनुसार सयपत्री फूलले सिजनमा राम्रो आम्दानी दिए पनि अफसिजनमा उचित मूल्य नपाउँदा किसानहरू निराश बन्ने गरेका छन्।
मनसुन सुरु भएसँगै फूल खेतीमा थप चुनौती थपिएको किसानहरूको भनाइ छ। वर्षायाममा फूलमा रोग लाग्ने तथा कालो दाग देखिने समस्या बढ्ने भएकाले उत्पादनको गुणस्तर घट्ने र केही हिस्सा नष्ट हुने गरेको उनीहरूले बताएका छन्।

यसैबीच, काठमाडौँको सीतापाइला हुँदै धादिङको धार्केसम्मको सडक सञ्जाल विस्तार भएपछि यस क्षेत्रको आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि भएको स्थानीयहरू बताउँछन्। सडक पहुँच सहज बनेसँगै किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म छिटो र सहज रूपमा पुर्याउन सक्ने अवस्था बनेको छ, जसले स्थानीय कृषि व्यवसायलाई थप प्रोत्साहन दिएको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया