काठमाडौं। पूर्वअर्थमन्त्री वर्षमान पुन ले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमा स्पष्ट प्राथमिकता र राजनीतिक दृष्टिकोणको अभाव रहेको टिप्पणी गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेटमा विभिन्न क्षेत्रका विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र रूपमा हेर्दा यसले केही हदसम्म ‘पपुलिस्ट’ अर्थात् जनप्रिय देखिने कार्यक्रमहरूलाई प्राथमिकता दिएको बताए।

advertisement

पुनका अनुसार पपुलिजमको मुख्य विशेषता सबैलाई आकर्षक लाग्ने योजना र कार्यक्रम घोषणा गर्नु भए पनि ती कार्यक्रम कार्यान्वयन हुने वा नहुने विषयमा पर्याप्त स्पष्टता नहुनु हो। सरकारले ल्याएको बजेटमा पनि यस्तै प्रवृत्ति देखिएको उनको भनाइ छ।

उनले बजेट निर्माणका क्रममा विभिन्न राष्ट्रिय राजनीतिक दलहरूले उठाउँदै आएका विषयहरूलाई समेट्ने प्रयास गरिएको देखिए पनि सरकारको आफ्नै स्पष्ट विचार, राजनीतिक दृष्टिकोण र विकास प्राथमिकता भने प्रस्ट रूपमा नदेखिएको बताए।

“बजेट हेर्दा सबै विषय समेटिएको जस्तो देखिन्छ। तर सरकारको स्पष्ट सोच, प्राथमिकता र केन्द्रित रणनीति के हो भन्ने कुरा पर्याप्त रूपमा देखिँदैन,” पुनले भने।

उनका अनुसार बजेटमा समावेश अधिकांश कार्यक्रम तथा आयोजना विगतका सरकार र राजनीतिक दलहरूले अघि सारेका योजनाहरूको निरन्तरताजस्ता देखिन्छन्। बजेटले अपेक्षित परिणाम दिन सरकारसँग स्पष्ट रणनीति, प्राथमिकता र कार्यान्वयन क्षमता आवश्यक रहने उनले बताए।

पूर्वअर्थमन्त्री पुनले बजेटको सफलताको मूल्याङ्कन घोषणा गरिएका कार्यक्रमभन्दा पनि तिनको प्रभावकारी कार्यान्वयन र परिणामबाट हुने उल्लेख गरे।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com