काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई समयसापेक्ष रूपमा नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न वर्तमान सरकार पूर्ण रूपमा तत्पर रहेको बताएका छन् ।
भारतीय सञ्चारमाध्यम ‘एनडिटिभी’ सँगको विशेष अन्तर्वार्तामा मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको छोटो अवधिमै आम नागरिकको चाहना र बलियो समर्थनका कारण सरकारको नेतृत्वमा पुगेको उल्लेख गरे ।
उनले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
नेपाल र भारतबीचको खुला सीमाको चर्चा गर्दै मन्त्री खनालले दुवै देशले एकअर्काको सुरक्षा संवेदनशीलता र सरोकारलाई पूर्ण रूपमा आत्मसात् गरेको बताए ।
उनले मौरिससमा आयोजित एक कार्यक्रमका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग भएको भेटको स्मरण गर्दै सम्भव भएका सबै क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री खनालले विगतका पुराना असमझदारीहरूमा अल्झिएर बस्ने पक्षमा सरकार नरहेको बताए । उनले भने, “हामी विगतका पुराना असमझदारीहरूमा अल्झिएर बस्ने छैनौँ ।
विगतमा दुई ठूला छिमेकी मुलुकको विकासबाट नेपालले जति लाभ लिनुपर्ने थियो, त्यति लिन सकेन । अब हामी पारस्परिक लाभ र उज्ज्वल भविष्यका लागि कूटनीतिक सम्बन्धको अधिकतम उपयोग गर्नेछौँ ।”
उनले नेपालले विशेषगरी व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र कनेक्टिभिटी जस्ता क्षेत्रमा भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको बताए ।
यसका साथै बंगलादेशमा नेपाली विद्युत् निर्यातका लागि भारतले सकारात्मक सहयोग गर्नेमा पनि उनले विश्वास व्यक्त गरे ।
रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) र भारत सरकारबाट प्राप्त न्यानो स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन थप उत्प्रेरणा मिलेको मन्त्री खनालले उल्लेख गरे ।
नेपालमा रेलमार्ग विस्तार, उत्कृष्ट शैक्षिक संस्थाको विकास र आधुनिक प्रविधिको आदानप्रदानका लागि चाँडै नै दुई देशबीच ठोस सहमति र सहकार्य हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको उनले बताए ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया