काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले कानुन क्षेत्रका कर्मचारी तथा अधिकृतहरूलाई इमान्दारी, लगनशीलता र व्यावसायिक जिम्मेवारीका साथ काम गर्न आग्रह गर्दै भनसुन र सोर्सफोर्स को संस्कृतिबाट टाढा रहन अनुरोध गरेकी छन्।

राजधानीमा आयोजित दोस्रो कानुन अधिकृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले विगतमा भनसुनका कारण काम प्रभावित हुने प्रवृत्ति बढेको उल्लेख गर्दै वर्तमान सरकार त्यसको विपक्षमा रहेको बताइन्।

advertisement

उनले कर्मचारीहरूलाई कुनै पनि जिम्मेवारी निर्वाह गर्न हिच्किचाउन नहुने बताउँदै व्यक्तिगत पहुँच र दबाबको संस्कृतिले संस्थागत प्रणालीलाई कमजोर बनाउने धारणा राखिन्।

“सोर्सफोर्स गर्ने प्रवृत्तिबाट सबै जना टाढा रहनुहोस्। त्यसले अरूलाई मात्र होइन, आफ्नै सहकर्मीलाई पनि अन्याय गर्छ,” उनले भनिन्।

मन्त्री गौतमले प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयसमेत भनसुन संस्कृतिलाई निरुत्साहित गर्ने दिशामा सक्रिय रहेको उल्लेख गर्दै योग्यता, क्षमता र कार्यसम्पादनका आधारमा काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।

उनले देशका जुनसुकै स्थानमा खटिएर काम गर्नुपर्ने अवस्था आए पनि त्यसलाई अवसरका रूपमा लिन आग्रह गर्दै राष्ट्र निर्माणमा कर्मचारीतन्त्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्।

कानुन मन्त्रालयलाई राज्य सञ्चालनको ‘मस्तिष्क’को संज्ञा दिँदै उनले कानुन अधिकृतहरूले तयार पार्ने राय, मस्यौदा र सुझावले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आफ्नो जिम्मेवारीप्रति थप संवेदनशील हुनुपर्ने बताइन्।

लोकतन्त्र सुदृढीकरण, विधिको शासन स्थापना र सुशासन प्रवर्द्धनमा कानुन क्षेत्रका कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले इतिहासले प्रायः राजनीतिक नेतृत्वलाई सम्झिए पनि राष्ट्र निर्माणको आधार तयार गर्ने काम कर्मचारीहरूले नै गर्ने धारणा व्यक्त गरिन्।

मन्त्री गौतमले सम्मेलनबाट प्राप्त सुझाव र कार्यढाँचालाई मन्त्रालयले आगामी नीति तथा कार्यक्रम निर्माणमा आधारका रूपमा उपयोग गर्ने प्रतिबद्धता समेत जनाइन्।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com