काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा सहयोग पुर्याउन मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आफूविरुद्ध उठेका सवालको जवाफ दिनुपर्ने दायित्वबाट भाग्न नहुने उनको भनाइ छ।
आइतबार आयोजित रास्वपा गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले छानबिन समितिसमक्ष उपस्थित भएर बयान दिएको उल्लेख गरे। उनले सार्वजनिक पदमा रहँदा उठेका जिज्ञासा र आरोपबारे स्पष्ट जवाफ दिन आफू तयार रहेको बताए।
‘सार्वजनिक पदमा बसेपछि जनताले प्रश्न उठाउन पाउँछन्, र ती प्रश्नको जवाफ दिनु मेरो दायित्व हो,’ उनले भने, ‘समितिले सोधेका कतिपय प्रश्न निकै कडा थिए, तर मैले सबै प्रश्नको स्पष्ट र सहज रूपमा उत्तर दिएको छु।’
बयानका क्रममा भएको एउटा प्रसंग सुनाउँदै गुरुङले समितिले आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले पनि प्रतिप्रश्न गरेको बताए। ‘जब मलाई ‘यति सम्पत्ति कहाँबाट आयो ?’ भनेर सोधियो, मैले पनि ‘तपाईंहरूको सम्पत्ति पनि छानबिन गरौँ न’ भनेर जवाफ दिएको थिएँ,’ उनले भने।
उनका अनुसार छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको छ। आफूले पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गर्दै गुरुङले छानबिन प्रक्रियाले आफ्नो निर्दोषिता पुष्टि गर्ने अपेक्षा राखेका छन्।
उनले भविष्यमा पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउने सम्भावनाबारे पनि टिप्पणी गरे। ‘यदि समितिले मलाई सफाइ दियो र सरकारले फेरि गृह मन्त्रालयको जिम्मेवारी दियो भने, सुरुका दुई महिना बधाई दिन वा तस्बिर खिच्न मन्त्रालय नआइदिनुहोला,’ उनले हल्का व्यंग्यात्मक शैलीमा भने।
संगठन निर्माणबारे बोल्दै गुरुङले रास्वपाको नेतृत्व स्थानीय तहसँग जोडिनुपर्ने धारणा राखे। अब चयन हुने जिल्ला सभापति राजधानीकेन्द्रित नभई जिल्लामै बसेर पार्टी संगठन विस्तार र जनसम्पर्कमा सक्रिय हुनुपर्ने उनको सुझाव थियो।
‘जिल्लाको नेतृत्व गर्ने व्यक्ति जिल्लामै रहेर जनतासँग निरन्तर सम्पर्कमा हुनुपर्छ,’ उनले भने, ‘राजधानीमा बसेर चुनावका बेला मात्र जिल्लामा पुग्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन सक्दैन।’
गुरुङले आफू गृह मन्त्रालयको जिम्मेवारीमा रहँदा आमनागरिकबाट उल्लेखनीय साथ र समर्थन प्राप्त गरेको स्मरण गर्दै गोरखाबाट आफूलाई निर्वाचित गराउने मतदाता तथा समर्थकप्रति विशेष आभार व्यक्त गरेका थिए।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया