काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारमा भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरिएको विषयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णयलाई अनैतिक, स्वेच्छाचारी र अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ।
पार्टीका प्रवक्ता मनिष कुमार सुमन ले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता गठबन्धन नेतृत्वका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेको निर्णय लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक नैतिकताविपरीत रहेको उल्लेख गरिएको छ।
जसपा नेपालले हालै सर्वोच्च अदालतबाट आएको फैसलाले राजनीतिक चलखेलका आधारमा गठन गरिएको ‘जसपा’ लाई अवैध ठहर गर्दै जसपा, नेपाललाई वैधानिकता प्रदान गरिसकेको स्मरण गराएको छ। विज्ञप्तिअनुसार अदालतको निर्णयसँगै दल विभाजनसम्बन्धी सम्पूर्ण गैरकानुनी प्रक्रिया स्वतः निष्क्रिय भएको तथा सम्बन्धित जनप्रतिनिधि, नेता र कार्यकर्ताहरू कानुनी रूपमा जसपा, नेपालकै दलीय अनुशासनभित्र रहेको स्पष्ट भएको दाबी गरिएको छ।
पार्टीले उक्त कानुनी अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको भए पनि मुख्यमन्त्री आचार्यले त्यसलाई बेवास्ता गर्दै भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराएको आरोप लगाएको छ। जसपा नेपालको भनाइमा यस्तो कदम कानुनी राज्यको उपहास मात्र नभई लोकतान्त्रिक प्रणालीमाथिको प्रत्यक्ष आक्रमण र राजनीतिक बलमिच्याइँको उदाहरण हो।
विज्ञप्तिमा मुख्यमन्त्रीको उक्त निर्णयलाई अलोकतान्त्रिक, असंवैधानिक तथा राजनीतिक रूपमा निन्दनीय कार्यको संज्ञा दिँदै तत्काल सच्याउन माग गरिएको छ। पार्टीले मन्त्री नियुक्त गरिएका भण्डारीलाल अहिरलाई अविलम्ब पदमुक्त गर्न सरकारसँग माग गरेको छ।
साथै, आफ्नो कानुनी र न्यायोचित मागलाई बेवास्ता गरिएमा लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री तथा एमाले–कांग्रेस गठबन्धनविरुद्ध अदालतको मानहानी तथा अन्य कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनी पनि जसपा नेपालले दिएको छ। पार्टीले लोकतान्त्रिक प्रक्रिया, संवैधानिक व्यवस्था र अदालतको निर्णयको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया