काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।
नेपाल प्रहरीले लापरबाहीपूर्ण ढंगले सवारीसाधन चलाएको सम्बन्धमा प्राप्त गुनासो र सार्वजनिक रूपमा देखिएको दृश्यका आधारमा उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रहरीका अनुसार साम्पाङ मोटरसाइकल चलाइरहेका बेला एक हातले ह्यान्डल समातेको र अर्को हातमा मोबाइल फोन लिएर भिडियो खिचिरहेको अवस्थामा देखिएका थिए। सोही क्रममा उनी दुर्घटनामा समेत परेको बताइएको छ।
सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु तथा ट्राफिक सुरक्षासम्बन्धी नियमको पालना नगर्नु जोखिमपूर्ण व्यवहार भएकाले कानुनअनुसार कारबाही गरिएको प्रहरीको भनाइ छ।
सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि ट्राफिक नियम उल्लंघनबारे व्यापक चर्चा भएको थियो। त्यसपछि प्राप्त जनगुनासो र उपलब्ध प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया