काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
व्यवसायी दीपक भट्टसँगको व्यापारिक सम्बन्ध र बीमा कम्पनीमा गरिएको लगानीबारे प्रश्न उठेपछि गुरुङ केही समयअघि विवादमा परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गुरुङले सेयर खरिद गरेको विषय सार्वजनिक भएपछि उनीमाथि नैतिक र राजनीतिक दबाब बढेको थियो।
लगानीका लागि प्रयोग भएको रकमको स्रोतबारे व्यापक प्रश्न उठेपछि गुरुङले आफन्त तथा चिनेजानेकाबाट सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको स्पष्टीकरण दिएका थिए। बढ्दो आलोचनाबीच उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
विवादको निष्पक्ष छानबिनका लागि मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठाइएका आरोप तथा आशंकाबारे तथ्यगत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। पछि कार्यसम्पादनका लागि थप पाँच दिनको म्याद प्रदान गरिएको थियो।
समितिले विस्तृत अध्ययन तथा आवश्यक कागजातको परीक्षणपछि गुरुङमाथि लगाइएका आरोप पुष्टि हुने आधार नभेटिएको निष्कर्ष निकालेको थियो। गुरुङका सेयर लगानी, आयस्रोत तथा चल-अचल सम्पत्तिको परीक्षणपछि उनीविरुद्ध उठेका आरोप प्रमाणित नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको सम्पत्ति र लगानीलाई वैध ठहर गर्दै सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा व्यवस्थापन प्रणालीको सीमिततासँग जोडेर व्याख्या गरेको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया