काठमाडौं। पछिल्लो समय दर्शकमाझ लोकप्रिय बन्दै गएको नेपाली टेलिसिरियल ‘सम्झौता’ का केही पुराना एपिसोडहरू डिजिटल प्लेटफर्मबाट अचानक हटेपछि दर्शकहरूमा चासो र जिज्ञासा बढेको छ।

एपिसोडहरू उपलब्ध नभएपछि सामाजिक सञ्जालमा दर्शकहरूले निरन्तर प्रतिक्रिया जनाइरहेका छन्।
पारिवारिक सम्बन्ध, प्रेम, विश्वासघात, संघर्ष र जीवनका यथार्थ पक्षलाई समेटेर निर्माण गरिएको ‘सम्झौता’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको थियो। तर केही एपिसोडहरू एकाएक गायब भएपछि यसको कारणबारे विभिन्न अड्कलबाजीसमेत भइरहेका छन्।

advertisement

यस विषयमा प्रतिक्रिया दिँदै सिरियलका लेखक तथा निर्देशक विजय मगरले सिर्जनात्मक यात्रामा केही चुनौतीहरू देखापरेको स्वीकार गरेका छन्। उनले भावुक हुँदै भने, “सायद हाम्रो यात्रालाई कसैको आँखा लाग्यो होला। केही समस्या आएका छन्, केही चुनौतीहरू देखिएका छन्। तर हामीले सपना देख्न छाडेका छैनौं। हामी रोकिएका छौं, तर हार मानेका छैनौं।”

उनले सिर्जनाको यात्रामा आउने अवरोध अस्वाभाविक नभएको भन्दै दर्शकबाट प्राप्त माया, साथ र समर्थनले आफूहरूलाई थप ऊर्जा दिएको बताए ।
“हामीले मेहनत, पसिना र संघर्षले निर्माण गरेको कथालाई कुनै समस्याले समाप्त गर्न सक्दैन। आज केही गुमेको जस्तो देखिए पनि भोलि हामी अझ मजबुत भएर फर्किनेछौं,” उनले भने।

निर्देशक मगरले दर्शकहरूलाई धैर्य गर्न आग्रह गर्दै हटाइएका पुराना एपिसोडहरू पुनः उपलब्ध गराउने प्रयास भइरहेको संकेत समेत गरेका छन्।
‘सम्झौता’का नियमित दर्शकहरूले यस सिरियललाई आफ्नो भावना र दैनिकीसँग जोडिएको कथा भन्दै हराएका एपिसोडहरू पुनः सार्वजनिक गर्न सामाजिक संजालमा प्रतिक्रिया दिईरहेका छन्।

दर्शकप्रति आभार व्यक्त गर्दै निर्देशक मगरले आशावादी सन्देश दिएका छन्। “खरानी भएको ठाउँबाट पनि आगो बल्न सक्छ। अँध्यारोले केही समय उज्यालो छेक्न सक्छ, तर उज्यालोलाई सधैंका लागि हराउन सक्दैन। हामी फेरि उठ्नेछौं, अझ शक्तिशाली भएर उठ्नेछौं,” उनले भने।
निर्माण पक्षबाट एपिसोडहरू हट्नुको वास्तविक कारणबारे औपचारिक धारणा भने सार्वजनिक भएको छैन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com