काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले नेपालको राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय छविमाथि प्रश्न उठाएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राईले नेपालले कुनै पनि छिमेकी मुलुकको भूमि अतिक्रमण नगरेको दाबी गरे। नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा ‘अतिक्रमणकारी राष्ट्र’का रूपमा चित्रित गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।

advertisement

सचेतक राईले प्रधानमन्त्री तथा उनका समर्थकहरूले पर्याप्त आधारबिनै नेपालले भारतीय भूमि अतिक्रमण गरेको देखाउने प्रयास गरेको आरोप लगाए। उनले यस्तो अभिव्यक्तिले राष्ट्रिय हित र सार्वभौमिकतासम्बन्धी संवेदनशील विषयमा अनावश्यक विवाद सिर्जना गरेको बताए।

‘स्थानीय तहको नेतृत्वमा रहँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने व्यक्तिले अहिले कुन उद्देश्यले नेपालको स्वाभिमानमाथि प्रश्न उठाइरहनुभएको छ ?’ राईले संसद्मा प्रश्न गरे।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा रक्षाका क्रममा बलिदान दिएका सहिदहरूको सम्मानमा समेत चोट पुगेको जिकिर गरे। सीमा सुरक्षाका लागि संघर्ष गर्ने नेपालीहरूको योगदानलाई कमजोर पार्ने खालका अभिव्यक्ति जिम्मेवार पदमा बसेका व्यक्तिबाट आउन नहुने उनको धारणा थियो।

राईले उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउने विषयमा सभामुखले पहल नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले सभामुखबाट निष्पक्ष र प्रभावकारी भूमिका अपेक्षा गरिएको उल्लेख गर्दै विवादित भनाइबारे आवश्यक रुलिङ गर्न माग गरे।

साथै, प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा राख्नुपर्ने तथा आवश्यक परे आत्मालोचना गर्दै माफी माग्नुपर्ने मागसमेत उनले गरेका छन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com