काठमाडौं । प्रतिनिधिसभामा मंगलबार विपक्षी दलहरूले शहीदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्दै आफ्नो विरोध जनाएका छन्। सामान्यतया शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि यसपटक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पहलमा पाँच मिनेट मौनधारण गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। सोही विषयमा प्रधानमन्त्रीले संसद्मा आएर स्पष्टिकरण दिनुपर्ने र माफी माग्नुपर्ने माग गर्दै आएका विपक्षी दलहरूले मंगलबार नयाँ शैलीमा विरोध प्रदर्शन गरेका हुन्।

advertisement

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताको रक्षाका लागि योगदान दिएका ऐतिहासिक व्यक्तित्वहरूको स्मरण गरे। उनले पृथ्वीनारायण शाह, वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापालगायत राष्ट्रिय वीरहरूको योगदानको चर्चा गर्दै वर्तमान सन्दर्भमा राष्ट्रिय स्वाभिमानको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसले राष्ट्रको गौरव र सीमा रक्षाका लागि बलिदान दिएका व्यक्तिहरूको सम्मानमा प्रश्न उठाएको टिप्पणी गरे।

त्यसपछि उनले देशका लागि जीवन अर्पण गरेका शहीदहरू, प्रजातन्त्र र नागरिक सर्वोच्चताका लागि भएका आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न पाँच मिनेट मौनधारण गर्ने घोषणा गरेका थिए।

उनको आह्वानपछि नेपाली कांग्रेसका सांसदहरू उभिएर मौनधारणमा सहभागी भए। त्यसक्रममा अन्य विपक्षी दलका सांसदहरूले पनि साथ दिएका थिए।

संसद्मा जारी राजनीतिक विवादका बीच विपक्षी दलहरूले अपनाएको यो विरोध शैलीले सदनमा केही समय विशेष वातावरण सिर्जना गरेको थियो।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com