काठमाडाैं । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश मोहन सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधसम्बन्धी आरोप हटाउन आदेश दिएको हो। यद्यपि, सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने अदालतले स्पष्ट गरेको छ।
विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा दायर भएको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय पर्साले अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएको थियो। अदालतले उक्त निवेदन स्वीकृत गरेसँगै अब पर्सा जिल्ला अदालतमा ‘सानो पाइला’ सहकारी ठगीसम्बन्धी मुद्दामात्र विचाराधीन रहने भएको छ।
अदालतको आदेशमा जाहेरवालाको मुख्य उद्देश्य बचतकर्ताको रकम फिर्ता गराउनु रहेको उल्लेख गरिएको छ। संगठित अपराधसम्बन्धी दाबी फिर्ता लिए पनि सहकारी ठगीसम्बन्धी अभियोग कायम रहने भएकाले मुद्दाको मूल उद्देश्यमा कुनै असर नपर्ने निष्कर्ष अदालतले निकालेको छ।
यसअघि पनि जिल्ला अदालत कास्कीले रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको थियो।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया