काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयमा आफ्नो कार्यकाल अधिकतम तीन वर्ष रहने बताएका छन्। मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सीमित अवधिमा परिणाममुखी काम गरेर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने योजना सुनाएका हुन्।
पुनले वर्तमान सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू भने पूरा अवधि मन्त्री पदमा नरहने स्पष्ट पारे। विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा दीर्घकालीन आधार निर्माण गर्ने लक्ष्यसहित आफूले आगामी तीन वर्ष निरन्तर सक्रिय भएर काम गर्ने बताए।
‘सरकारको कार्यकाल पाँच वर्षको भए पनि म त्यति समय मन्त्रालयमा बस्ने सोचमा छैन,’ उनले भने, ‘बढीमा तीन वर्षसम्म पूर्ण समर्पणका साथ काम गर्छु। त्यस अवधिमा आवश्यक संरचना र आधार तयार गरेर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने योजना छ।’
उनले मन्त्रालयलाई प्रभावकारी बनाउँदै अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई संस्थागत रूप दिन आफ्नो ध्यान केन्द्रित रहने पनि बताए।
स्वतन्त्र सांसदका रूपमा निर्वाचित पुन विज्ञान तथा प्रविधि क्षेत्रका अभियन्ताका रूपमा परिचित छन्। उनको नेतृत्वमा नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकाससँग जोड्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार










प्रतिक्रिया