काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाटमा फेला परेको युवकको शव हत्या गरिएको अवस्थामा रहेको खुलेको छ। प्रहरी अनुसन्धानबाट मृतक कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार राना रहेको पुष्टि भएको हो।
प्रहरीका अनुसार रानाको स्वाभाविक मृत्यु नभई कुटपिटपछि हत्या गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा धनगढी–८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरिएको छ।
अनुसन्धानका क्रममा चार जनाको समूहले राजकुमारलाई कुटपिट गरी हत्या गरेपछि प्रमाण लुकाउन शव मोहना नदी किनारमा फालेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य दुई फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया