काठमाडौं । सर्लाहीको कविलासी नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि आक्रमण भएको घटनामा मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोककुमार यादवको संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
सर्लाही प्रहरीले पूर्वसांसद यादवलाई पक्राउ गर्ने प्रयास गरिरहेको भए पनि उनी हालसम्म सम्पर्कविहीन रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रवीन्द्र पौडेलका अनुसार यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
‘उहाँमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,’ एसपी पौडेलले जानकारी दिए।
२०७४ सालको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट प्रदेशसभा सदस्य निर्वाचित भएका यादव हाल नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध छन्।
प्रहरीका अनुसार जेठ २५ गते राति करिब ९ बजे यादवको स्वामित्वमा रहेको ज.१ त. २५५० नम्बरको ट्याक्टरले कविलासी नगरपालिका–८ अगर्वामा पार्किङ गरी राखिएको ना.६ ख. ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनापछि ट्याक्टर घटनास्थलबाट भाग्न खोजेको अवस्थामा प्रहरीले रोकेको थियो।
दुवै पक्षबीच छलफल गराएर मिलापत्र गराउने वा आवश्यक परे प्रहरी कार्यालयमा उपस्थित हुन सुझाव दिइएको थियो। त्यसक्रममा ट्याक्टर चालकले अशोककुमार यादवलाई घटनास्थलमा बोलाएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार यादव घटनास्थलमा पुगेपछि उनीसँग आएका व्यक्तिहरूले प्रहरीलाई घेरा हाल्दै विवाद चर्काएका थिए। स्थिति तनावग्रस्त बन्दै जाँदा प्रहरीमाथि दुर्व्यवहार तथा आक्रमण भएको र त्यसको मौका छोपेर ट्याक्टर समेत लगिएको आरोप प्रहरीले लगाएको छ।
‘प्रहरीमाथि अभद्र व्यवहार गर्नुका साथै आक्रमण गरेर ट्याक्टर लैजाने काम भएको देखिन्छ। घटनाबारे थप अनुसन्धान जारी छ,’ एसपी पौडेलले भने।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा कविलासी नगरपालिका–१० सलेमपुर निवासी १९ वर्षीय विक्रमकुमार यादव र भारतीय नागरिक २१ वर्षीय प्रियाङ्शु यादव रहेका छन्। उनीहरू पूर्वसांसद यादवका भतिज र भाञ्जा हुन्।
दुवै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाका मुख्य आरोपितमध्ये एक मानिएका पूर्वप्रदेश सांसद यादव भने अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया