झापा। वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका वडा नम्बर ९ र १० को सीमावर्ती सडक पुनः हिलाम्मे बनेपछि वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दाले सडकमै धान रोपेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

सडकभरि पानी जमेर खाल्डाखुल्डी परेपछि हिँड्नै नसक्ने अवस्था सिर्जना भएको र पटक-पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले चासो नदिएपछि स्थानीयले धानको बेर्ना बोकेर सडकमै पुगी खेतकै रूपमा धान रोपेर आन्दोलन गरेका हुन् ।

advertisement

यो सडक प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपास पर्छ ।

हिउँदमा धुलो र वर्षामा हिलोका कारण यो सडक वर्षौंदेखि जीर्ण छ ।

दैनिक आवतजावत मात्र नभई बिरामीलाई अस्पताल लैजान, बालबालिकालाई विद्यालय पुर्‍याउन र किसानका उत्पादन बजारसम्म पुर्‍याउन समेत निकै ठूलो समस्या भएको स्थानीयको गुनासो छ ।

विरोधमा सहभागी स्थानीय किसान नगेन्द्रमणि न्यौपानेले चुनावका बेला नेताहरूले विकासका ठूलाठूला सपना देखाउने तर जितेर गएपछि जनताको आधारभूत समस्या बिर्सने गरेको आरोप लगाए ।

उनका अनुसार वडा कार्यालयदेखि नगरपालिका, प्रदेश र संघीय सरकारसम्म धाउँदा पनि सडक निर्माणको कुनै ठोस काम हुन नसकेपछि सडक र खेत छुट्याउनै गाह्रो भएको यथार्थ देखाउन आफूहरू सडकमै धान रोप्न बाध्य भएको बताए ।

स्थानीय बासिन्दाले अब पनि सडक स्तरोन्नति र कालोपत्रे नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सडकमा रोपिएको धानले विकासको झुटा आश्वासन होइन, व्यवहारमै परिवर्तन खोजिरहेको सन्देश दिएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com