काठमाडौं। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको राजनीतिक नेतृत्व सम्हालेका मन्त्री महावीर पुनले मन्त्रालयको कार्यकक्षमै सरकारी निवास कायम गर्ने निर्णय गरेका छन् ।
मंगलबार पदबहाली गरेका मन्त्री पुन आजैदेखि सिंहदरबारभित्र रहेको मन्त्रालयको कार्यालयमा बस्न थालेका हुन् । समयको बचत र कामलाई थप प्रभावकारी बनाउनका लागि उनले यस्तो व्यवस्था मिलाएको बताइएको छ ।
साविकको युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट सञ्चालनमा आएको नयाँ मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गर्ने पहिलो निर्णय गरेको छ ।
मन्त्रालयकी सचिव इञ्जिनियरिङ सेवाकी प्रमिला बज्राचार्यका अनुसार मन्त्री पुनको निर्देशनअनुसार टोलीले प्रारम्भिक चरणका कामहरू तीव्र गतिमा गरिरहेको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटको नमुना तयार भइसकेको र प्राविधिक प्रक्रिया पूरा भएपछि ७२ घण्टाभित्र सञ्चालनमा आउने जनाइएको छ । हाल मन्त्रालयमा स्वीकृत दरबन्दीअनुसार २४ जना कर्मचारी कार्यरत छन् ।
मन्त्री पुनले मन्त्रालयको संगठन संरचना र कार्यक्षेत्रको पूर्ण प्रतिवेदन तयार भएपछि दरबन्दी थप्ने र कार्यविभाजन विस्तृत गर्ने योजना रहेको बताएका छन् ।
देशमा वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले यो मन्त्रालयको स्थापना भएको छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया