काठमाडौं। नेकपा एमालेका सांसद पुष्पराज कँडेल ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघिल्ला सरकारका कमजोरी देखाएर आफूले गरेका त्रुटिहरूको बचाउ गर्न नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे ।
“माननीय अर्थमन्त्रीज्यूले बारम्बार अघिल्ला अर्थमन्त्रीहरूले ७३ ठाउँमा करका दर वा व्यवस्थाहरू परिवर्तन गरे, भ्रष्टाचार भयो भन्ने कुरा उठाइरहनुभएको छ,” कँडेलले भने, “यदि अघिल्ला सरकारले गल्ती गरे भन्ने हो भने त्यो रेकर्डमा छँदैछ । तर नयाँ सरकार सुशासन र सुधारको एजेन्डा लिएर आएको हो भने उसले विगतका कमजोरी दोहोर्याउनु हुँदैन ।”
सांसद कँडेलले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीबारे पनि प्रश्न उठाए । उनले कर नीतिमा स्थायित्व, पूर्वानुमानयोग्यता र स्पष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।
बैठकमा अन्य सांसदहरूले बजेटले निजी क्षेत्रको माग सम्बोधन गरेको र व्यावसायिक वातावरण सुधारमा जोड दिएको भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको र पूर्वाधार विकासमा अपेक्षाकृत ध्यान दिन नसकेको बताएका छन् ।
सांसद लिमा अधिकारीले बजेटले वर्षौंदेखि करको समस्या र बक्यौताले थिचिएका नागरिक तथा व्यवसायीलाई ठूलो राहत दिएको बताइन् । सांसद विदुषी राणाले बजेटले लगानीकर्तामा राज्य मेरो साथमा छ भन्ने विश्वास जगाउन सफल भएको बताइन् ।
समितिका सांसदहरूले बजेटका केही प्राविधिक पक्षहरू सकारात्मक भए पनि कार्यान्वयन र पूर्वाधार विकासमा देखिएको न्यून प्राथमिकताप्रति सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया